बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको छ।
प्रारम्भिक चरणमा बाढी÷डुबानबाट हुनसक्ने ठाउँको आकलन गरी त्यसको बचावका लागि पूर्वतयारी गर्न तीन जिल्लाका सुरक्षा निकाय र सरोकारवालाबीच आज बर्दिबासमा समन्वयात्मक पूर्व तयारी थालिएको हो।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, महोत्तरी, धनुषा र सर्लाहीका सबै सुरक्षा निकायका प्रमुख तथा विपद् प्रतिकार्य अभ्यासमा रहेका सामाजिक सङ्घ संस्थाका अगुवा समन्वयात्मक बैठकमा सहभागी भएका छन्।
बैठकमा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्खा सुरु हुनअगावै बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी धनजनको क्षति हुन नदिन पूर्वतयारी थालिएको बताए। “बर्सेनि बर्खामा बाढी, डुवान र त्यसपछि महामारीको प्रकोप चल्ने गरेको विगत अनुभव छ”, लेखीले भने, “यसपालिको बर्खामा क्षति भोग्ने स्थिति नपरोस् भनेर अहिलेदेखि नै तयारी थालिएको हो।” यो समन्वयात्मक बैठकले तीनवटै जिल्लामा सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न स्पष्ट खाकासहितको कार्ययोजना बनाउने उनको भनाइ छ।
समन्वयात्मक बैठकले तीनवटै जिल्लाका बाढी–डुवान प्रभावित क्षेत्रको नक्शाङ्कन गरी ती क्षेत्रमा बचाव कार्यको पूर्वतयारीका लागि प्रतिकार्य तथा उद्धार टोली तयार अवस्थामा राखिन र उद्धार राहत सामग्री व्यवस्थापन गरिन योजनाबद्ध तालिका बनाउने मन्त्रालयका सचिब विमलप्रसाद बरालले बताए।
महोत्तरीमा मात्रै रातु, मडहा, बाँके, ओक्सी र जङ्घासहितका नदीमा आउने बाढीले बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरु प्रभावित हुँदै आएका छन्। जिल्लामा रातु नदीको बाढीले नै ४५ हजार भन्दाबढी प्रभावित हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाइ छ।
यसैगरी कमला, जलाद, औरहीसहितका नदीले धनुषामा र बागमती, झिम, लखन्देई र बकैयासहितका नदीमा आउने बर्खे बाढीले धनजनको क्षति गर्दै आएको छ।