कुनै समय विश्वका धनाढ्यहरूको चहलपहल भइरहने चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौलीमा फेरि लक्जरी पर्यटनको विकास हुन थालेको छ।
कुनै समय विश्वका धनाढ्यहरू मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरूमा पुग्थे। जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो। जानकारहरूका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे। अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्यारा जम्पिङ गर्दै आएको छ।
टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरू आएका थिए। विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए। तर २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए।
पछिल्ला केही वर्षयता मेघौलीमा पुनः लक्जरी पर्यटनको विकास हुन थालेको सङ्केत देखिएको छ। निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ। सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ।
राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु हो। जहाँ थारु र कुमाल समुदायको बाहुल्य छ। आगन्तुकहरूले राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ। बिहानै हात्ती तथा जिपमा जङ्गल सफारी गरी जङ्गली हात्ती, गैँडा, बाघ, मयूर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब ५०० भन्दाबढी प्रजातिका चरा पनि देख्न सकिन्छ।
मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालका अनुसार पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्। यसले यहाँको रैथाने खाना र संस्कृति प्रवद्र्धनमा सहयोग पुगेको छ।
मेघौली सौराहको तुलनामा निकै शान्त छ। सौराहमा जस्तो भीड पनि छैन। यहाँ पर्यटकहरू शान्त वातावरणमा प्रकृतिसँग रमाउन पाउँछन्।