२२ बैशाख २०८२ , सोमबार

लुम्बिनी सरकारद्वारा नीति तथा कार्यक्रम र बजेटका लागि दलहरूसँग परामर्श, कृषिलाई प्राथमिकता दिन सुझाव

News
२० बैशाख, काठमाण्डौँ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता तय गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेको छ। राप्ती उपत्यकामा आयोजित छलफलमा मुख्यमन्त्री चेतनारायण आचार्यले सबैको अपनत्व हुने गरी नीति तथा कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको बताए।

मुख्यमन्त्री आचार्यले दायित्व नथपिने गरी बजेट बनाइने र सङ्घ सरकारबाट प्राप्त हुने राजस्वलाई मध्यनजर गरी बजेट तर्जुमा गरिने स्पष्ट पारे। नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेको बताए।

छलफलमा सहभागी दलका नेताहरूले कृषिलाई प्राथमिकता दिन, चालु खर्च घटाएर पुँजीगत खर्च बढाउन, बहुवर्षीय योजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूसँग छलफल गर्न र कृषिमा आधारित उद्योग स्थापनामा जोड दिन सुझाव दिएका थिए।

एमालेका तुलसी चौधरीले कृषिमा आत्मनिर्भर बन्ने गरी विशेष बालीमा आधारित कार्यक्रम ल्याउनुपर्ने बताए। माओवादी केन्द्रका इन्द्रजित थारूले वस्तुस्थिति र तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिए। कांग्रेसकी धनलक्ष्मी श्रेष्ठले मातृ मृत्युदर, बाल मृत्युदर तथा कुपोषण समाधान गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन्।