२५ जेष्ठ २०८२ , आईतवार

स्थानीय तहलाई माग्ने बनाउने कार्य हटाइनुपर्छ : स्थानीय तहका प्रमुख

News
१२ जेष्ठ, काठमाण्डौँ ।

बागमती प्रदेशका स्थानीय तह प्रमुख र उपप्रमुखहरूले सङ्घीयतालाई बलियो बनाउनका लागि स्थानीय सरकारलाई माग्ने बनाउने कार्य हटाइनुपर्नेमा जोड दिएका छन्। सङ्घीय संसद् सचिवालयको आयोजनामा आज यहाँ भएको राष्ट्रियसभामा सदस्य र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखबीचको समन्वय बैठकमा उनीहरूले यस्तो बताएका हुन्।

काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले स्थानीय तहलाई स्रोतसाधन र राजस्व परिचालनमा सम्पन्न बनाइएमा सङ्घ र प्रदेश सरकारको अनुदानको आशा गर्न नपर्ने बताए। हामीलाई माग्ने बनाइएको छ, जसको नमूना हाल सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रालयहरूमा देख्न सकिन्छ, उनले भने।

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले उपसचिव वा सो सरहको प्रमुख प्रशासकीय अधिकृतलाई पालिकामा नियुक्त गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए। एउटा पालिकालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधिसँगै कर्मचारीको पनि उत्तिकै भूमिका हुन्छ, उनले भने।

विदुर नगरपालिकाका उपाध्यक्ष प्रभा बोगटीले बजेट बनाउन र कार्यान्वयन गर्न समस्या भएकाले यस्ता जटिलता हटाउन पहल आवश्यक रहेको बताइन्। खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले संविधान संशोधन हुँदा स्थानीय, प्रदेश र सङ्घको निर्वाचन एकैदिन एकै मतपत्रमा हुनुपर्ने बताए।