११ जेष्ठ २०८२ , आईतवार

हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादन बिक्री गर्न सहज

News
११ जेष्ठ, काठमाण्डौँ ।

 जिल्लाका विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादन बिक्री गर्न सहज भएको छ। जिल्लास्थित भानु नगरपालिका-२ नारेश्वरटारमा सञ्चालनमा आएको हाटबजार स्थानीय उत्पादन बिक्री गर्न सहयोगी बनेको छ।

साथै आँबुखैरेनी गाउँपालिकामा सञ्चालित हाटबजारले स्थानीय उत्पादन बिक्रीमा सहजीकरण गरिरहेको छ। स्थानीय किसानले उत्पादन गरेका सामग्री बिक्रीका लागि यही जेठ ३ गते शनिबारदेखि हाटबजार सञ्चालन गरिएको हो। उक्त हाटबजार प्रत्येक साताको शनिबार सञ्चालन हुनेछ।

नारेश्वरटार हाटबजार व्यवस्थापन तथा सञ्चालन समितिले भानु नगरपालिकाको सहकार्यमा हाटबजार सञ्चालन गरेको समितिका अध्यक्ष विष्णुप्रसाद मिश्रले जानकारी दिए। हाटबजारमा नगरभित्रका कृषिउपज ल्याएर बिक्री गर्न सकिने उनले बताए।

हाटबजार सञ्चालनको दोस्रो साता बेसार, तरुल, तिलको पिना, टमाटर, करेला, निउरो, कर्कलो, पिडालु, कटहर, तोरीको सागलगायत कृषिउपज बिक्री गरिएको छ। स्थानीय उत्पादन खरिद गर्न स्थानीयवासीको घुइँचो देखिएको मिश्रले बताए।

हाटबजार दिउँसो २ः०० बजेदेखि साँझसम्म सञ्चालन हुन्छ। हाटबजारले किसानलाई प्रोत्साहन गरी स्थानीय उत्पादनलाई बढवा गर्ने र उपभोक्ताले पनि रोजेको कृषिउपज सहज रूपमा खरिद गर्न सक्ने भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए। हाटबजारले किसान र उपभोक्तालाई जोड्ने पुलका रूपमा काम गर्ने उनको भनाइ छ।

आँबुखैरेनी–३ मा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ। हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि बिहानैदेखि घुइँचो लाग्ने गरेको छ। गत वर्षको फागुनदेखि सञ्चालित उक्त हाटबजारले किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्नुका साथै उत्पादित सामग्री बजारीकरणका लागि प्रभावकारी बनेको छ। आँबुखैरेनी-६ प्यघुरका मिलन गुरुङले हाटबजार कृषिउपज तथा अन्य दैनिक उपभोग्य वस्तु बजारीकरणका लागि सहयोगी बनेको बताए।