संखुवासभाको मकालु गाउँपालिका-३, लोपातलमा चट्याङ पर्दा १७ वटा भैंसी मरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार वर्षासँगै परेको चट्याङले मकालु-३ स्थित कालोपातलमा चराउन लगिएका भैंसी मरेका हुन्।
चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका १७ वटा भैंसी मरेका छन्। प्रहरी निरीक्षक लामिछानेले चट्याङका कारण १० लाखभन्दा बढीको क्षति भएको जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पैदल दूरीमा पर्दछ।