दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङ देशको नयाँ राष्ट्रपतिका लागि स्पष्ट रूपमा प्रबल दाबेदार रहेको ग्यालपको सर्वेक्षणले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणमा लीले बहुमत प्राप्त गर्ने देखिएको छ ।
सर्वेक्षणअनुसार डेमोक्र्याटिक पार्टीका नेता लीलाई ४९ प्रतिशत उत्तरदाताले सबैभन्दा राम्रो उम्मेदवार मानेका छन् । सत्तारुढ दल पिपुल्स पावर पार्टीका पूर्व लेबर मन्त्री किम मुन सोलाई ३५ प्रतिशतले मन पराएका छन् । सुधार पार्टीका ली जुन–सिओक तेस्रो स्थानमा छन् ।
ग्यालप कोरियाले गरेको फोन सर्वेक्षणमा एक हजार चार जना उत्तरदाता सहभागी थिए । सर्वेक्षणमा ३.१ प्रतिशतको त्रुटि अनुमान गरिएको छ । सर्वेक्षणले डेमोक्र्याटिक पार्टीका नेताले राजधानी सियोल, इन्च्योन र ग्योन्गीको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्रमा जित हासिल गर्ने अनुमान छ ।
तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी झुकाव भएका ली जे–म्युङलाई विजयी हुनबाट रोक्नका लागि राष्ट्रपति पदको उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको दबाब खेपिरहेका छन् । तर, ४० वर्षीय जे–म्युङले चुनावको दिन मतपत्रमा आफ्नो नाम स्पष्ट देखिने घोषणा गरेका छन् ।
मङ्गलबारको सर्वेक्षणले जे–म्युङले एकीकृत कन्जरभेटिभ उम्मेदवारसँग प्रतिस्पर्धा गरे पनि जित हासिल गर्ने संकेत गरेको छ । सर्वेक्षणमा सहभागीमध्ये करिब पाँच प्रतिशतले आफूलाई कुनै प्राथमिकता नभएको वा को उत्कृष्ट उम्मेदवार हुने भन्ने थाहा नभएको बताएका छन् । यो सर्वेक्षण अर्को हप्ता हुने मतदान अघि जारी गरिने अन्तिम सर्वेक्षणमध्ये एक हो ।
कन्जर्भेटिभ पार्टीका उम्मेदवार किमले युनको सैनिक शासनको पराजयपछि सर्वसाधारणको ध्यान तान्न सफल भए पनि नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गरेका छन् ।
‘नेक्स्ट रिसर्च’ले सोमबार सार्वजनिक गरेको सर्वेक्षणले दुई उम्मेदवारबीचको अन्तर देशव्यापी रूपमा नौ प्रतिशत बिन्दुमा खुम्चिएको र सियोलमा यो अन्तर ३.२ अंकमा खुम्चिएको देखाएको छ ।
ली सन् २०२२ को राष्ट्रपतीय चुनावमा युनसँग देशको इतिहासमै सबैभन्दा कम मतान्तरले पराजित भएका थिए । आगामी जुन ३ मा दक्षिण कोरियामा मतदान हुँदैछ ।