सांसदहरूले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा आएको लेदोसहितको पहिरोका कारण प्रभावित भएकाहरूलाई तत्काल राहत र उद्धारका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्न ध्यानाकर्षण गराएका हुन्। सांसद ज्ञानबहादुर शाहीले पहिरो गएको पाँच दिन बितिसक्दा पनि पीडितलाई उद्धार नगरिएको भन्दै तत्काल उद्धार गर्न आग्रह गरे। "पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन। मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्," उनले भने।
सांसद सूर्यकुमारी श्रेष्ठले पनि पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्न आग्रह गरिन्। सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताए। सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधरणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन अनुरोध गरिन्।
सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताइन्। सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्। सांसद सुशीला सिर्पाली ठकुरीले विदेश जाने संख्या बढिरहेको भन्दै स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
सांसद सुशीला श्रेष्ठले सुशासन कायम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिइन् भने सांसद सुहाङ नेम्वाङले योजना बनाउनुभन्दा पनि योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सांसद सूर्यप्रसाद ढकालले विद्युत् प्राधिकरणको घाटाबारे यथार्थ सदनमा प्रस्तुत गर्न आग्रह गरे। सांसद सूर्यबहादुर थापाले बजेट विनियोजनका क्रममा निर्वाचित प्रतिनिधिले ल्याएका योजना समाहित गर्न माग गरे।
सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा भत्किएको पुल निर्माण हुन नसक्दा वर्षाको समयमा एम्बुलेन्ससम्म आवतजावत गर्न असहज हुने भन्दै समयमा नै निर्माण अगाडि बढाउन सरकारलाई आग्रह गरिन्। सांसद हरि ढकालले राप्ती नगरपालिकामा बेथितिले सीमा नाघेको आरोप लगाउँदै नौ महिनामा चारजना अधिकृत परिवर्तन भई अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको भन्दै तत्काल अधिकृत पठाउन माग गरे। सांसद हेमराज राईले सगरमाथा संवादको सफल आयोजना गरेर वातावरणीय संरक्षणका लागि सामूहिक प्रतिबद्धताका लागि विश्वको ध्यानाकर्षण भएको बताए। सांसद ज्ञानु बस्नेत सुवेदीले प्रि मनसुन सुरु भएसँगै लेदोसहितको पहिरो गएको भन्दै विपद्का घटना बढ्न सक्ने बताए