ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आज ललितपुर नगर प्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा बोल्दै उनले यस्तो बताएका हुन्।
कुनै पनि विपद् आइलाग्दा स्थानीय सरकार पहिला तयार हुनुपर्ने बताउँदै उनले विपद्मा काम गर्न नगर प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाएको र आजको तालिमले यसलाई थप सहज बनाउने बताए। विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहकार्यमा पहिलोपटक तालिम भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिए।
विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार तयार हुनुपर्ने भन्दै उनले यस वर्ष रु पाँच करोड बजेट छुट्याएर काम गरिएको जानकारी दिए। महानगरका विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार गरिँदै गरेको उनले बताए।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनीयर दिनेशप्रसाद भट्टले तीन वटै सरकारलाई समन्वय गर्ने दायित्व प्राधिकरणको भएको भन्दै विपद् जोखिम न्यूनीकरणका लागि स्वयंसेवक परिचालन गर्न नमूना परियोजनाका रूपमा यो तालिम सञ्चालन गरिएको बताए।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले समुदायस्तरबाट हुने उद्धार र प्रतिकार्य विपद्मा प्रभावकारी हुने भन्दै समुदायलाई सक्षम बनाउनुपर्नेमा जोड दिए। महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले नेपालको भूगोल प्राकृतिक सुन्दरतासँगै विपद्को जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले तीनै तहका सरकारले समन्वय र सहकार्य गरी विपद् न्यूनीकरणका लागि योजनाबद्ध काम गर्नुपर्ने बताए।