लहानको मुख्य चोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन यो निर्णय लिइएको हो।
लहान नगरपालिकाको अगुवाइमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो।
सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारकलाई हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि सारिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए। नगरप्रमुख चौधरीले भने, “लामो प्रयास र छलफलपछि सडक विस्तारमा अवरोध नहोस् भनेर सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको हो। अब यसमा कसैको अवरोध रहँदैन। सडक निर्माण सम्पन्न भएपछि उक्त सालिकलाई पुनः पुरानै स्थानमा व्यवस्थित ढङ्गले स्थापना गर्न सकिनेछ।”
कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ। लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बीच भागमा रहेको स्मारकका कारण समस्या हुँदै आएको थियो। उक्त स्मारक मधेस आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्माण गरिएको थियो।
निर्माण कम्पनीका अनुसार स्मारक व्यवस्थापन गर्ने सहमति जुटेसँगै अब सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा अघि बढाइनेछ। कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिरहा)का प्राविधिक शाखाका सूचना अधिकारी तथा इञ्जिनियर सरोज कोइरालाका अनुसार मिर्चैयामा ‘ओभरपास’ निर्माणका लागि चाहिने २४ वटा पाइल फाउन्डेसनमध्ये १६ वटा तयार भइसकेको छ। लहानको मुख्य चोकमा सहिदपार्क नहट्दा एउटा पनि पाइल फाउन्डेसन निर्माण सुरु हुन सकेको थिएन।
सूचना अधिकारी कोइरालाले भने, “सहिद स्मारक सार्नका लागि लहान नगरपालिकालाई लामो समयदेखि ध्यानाकर्षण गराउँदै आएका थियौँ। स्मारकलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय भएसँगै अब तीव्रगतिका साथ सडक निर्माणको काम अघि बढ्छ।” उनले पश्चिम खण्ड कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडक निर्माणको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए। निर्माण कम्पनीले सन् २०२५ डिसेम्बर ३१ सम्ममा यस आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।