८ असार २०८२ , आईतवार

लहानको जनता आधारभूत विद्यालयमा दुई कोठे भवन शिलान्यास, दलित विद्यार्थी लाभान्वित हुने

News
८ असार, काठमाण्डौँ ।

सिरहाको लहान नगरपालिका–१३ स्थित दलित बाहुल्यता रहेको जनता आधारभूत विद्यालयमा थप दुई कोठे भवनको शिलान्यास भएको छ।

नगर प्रमुख महेशप्रसाद चौधरी र वडा अध्यक्ष मनोज कोइरालाले संयुक्तरूपमा शनिबार भवनको शिलान्यास गरेका हुन्। रु २६ लाख ४४ हजार लागतमा निर्माण हुने उक्त भवनमा गैर सरकारी संस्था ‘एक्सन एड’ नेपालको आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाको साझेदारी रहेको छ। यो संरचनाले विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने नगरप्रमुख महेशप्रसाद चौधरीले विश्वास व्यक्त गरेका छन्।

दुई कोठे उक्ता भवनको शिलान्यासपछि नगरप्रमुख महेशप्रसाद चौधरीले भने, “शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको भौतिक संरचना मजबुत हुनु आवश्यक छ। त्यसका लागि निर्माण हुने यो दुई कोठे भवनले सहजता ल्याउँछ।” उनले दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाको सहकार्यले बनेको यो भवनले विद्यार्थीको सिकाइ प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गर्दै विद्यालयको समग्र विकासमा नगरपालिका सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे।

विगत लामो समयदेखि सिरहाका विभिन्न पालिका तथा स्थानमा विपन्न दलितहरूको उत्थान र जीविकोपार्जनमा निरन्तर काम गरिरहेको संस्था दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद बिसुङ्खेले यस ठाउँमा दलित विद्यार्थीको बाहुल्यता रहेको र भौतिक संरचना जीर्ण रहेकाले आफूहरूले यस विद्यालयमा थप दुई कोठे भनव निर्माणमा जोड दिएको बताए। उनले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमार्फत गुणस्तरीय शिक्षा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको धारणा राखे।

विद्यालयका प्रधानाध्यापक हजारी साहका अनुसार एक सय ६५ जना छात्रछात्रा विद्यालयमा अध्ययनरत रहेका छन्। भवन निर्माण समितिका अनुसार आगामी पुस पहिलो हप्तासम्म भवन निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ।

त्यसैगरी दलित बाहुल्यता रहेको लहानकै वडा नं २२ स्थित जहदीसिसवनी आधारभूत विद्यालयमा थप चार कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको दलित जनकल्याण युवा क्लबका अध्यक्ष बिसुङ्खेले जानकारी दिए। उनका अनुसार ‘एक्सन एड’को रु ६२ लाख, नगरपालिकाको रु १५ लाख र वडाको रु पाँच लाख गरी रु ८२ लाख लागतमा गत मङ्सिरमा शिलान्यास भई निर्माणको काम भइरहेको छ।