जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण अवस्थामा छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको एक दशकभन्दा बढी भइसक्दा पनि मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक मर्मत नहुँदा जोखिमपूर्ण तरिकाले यातायातका साधन चलाउनुपर्ने बाध्यता छ ।
प्रदेश अस्पताल गेटदेखि सशस्त्र प्रहरी बल २५ नम्बर गण चण्डिकासम्मको ५०० मिटर सडक पुनर्निर्माण हुन नसक्दा यात्रुलाई हिँड्न र सवारीसाधन चलाउन समस्या भइरहेको स्थानीय थमनारायण पौडेलले बताए । अस्पताल पुग्ने सडकको अवस्थाप्रति कसैले ध्यान नदिएको उहाँको गुनासो छ ।
दैनिक ३०० भन्दा बढी बिरामी उपचारका लागि आउने अस्पताल आसपासको सडक मर्मत तथा पुनर्निर्माणमा कसैले चासो नदिएको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शङ्कर गिरीले बताए । यही सडक हुँदै पूर्वाधार विकास कार्यालय, सशस्त्र प्रहरी बल, सीप विकास, अनुसन्धान कार्यालय, जिल्ला अदालत, हुलाक, कृषि ज्ञान केन्द्र, खानेपानी, शिक्षा, नापी, मालपोत, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सरकारी वकिलको कार्यालय, पशु विज्ञ केन्द्र, जिल्ला स्वास्थ्य, नेपाल पत्रकार महासङ्घलगायतका कार्यालयमा जाने आउने सडकको अवस्था जीर्ण छ ।
एक वर्षअघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमा सडक मर्मतका लागि नागरिकको हस्ताक्षरसहित डेलिगेसन गए पनि बेवास्ता गरेको अस्पतालका निवर्तमान अध्यक्ष गिरीले बताए ।
धुलोधुवाँ र भत्किएको सडकका खाल्डोले सवारी दुर्घटना हुने तथा सवारीसाधनले ढुङ्गा उछिट्टाउँदा पसलमा क्षति पुग्ने गरेको स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले आफ्नो वडामा आउने बजेटले सडक निर्माण सम्भव नभएको बताए ।
पूर्वाधार विकास कार्यालयलाई धेरै पटक मौखिक र लिखित रूपमा बजेट विनियोजनका लागि आग्रह गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । पूर्वाधार विकास कार्यालय पर्वतले यो वर्ष सडक निर्माण गर्न बजेट नभएकाले सम्भव नरहेको जनाएको छ । सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा समेटिने गरी योजना प्रस्ताव गरी पठाएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।