प्रहरी सहायक निरीक्षक (प्रसनि) कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाबाट 'लैङ्गिक हिंसाविरुद्ध' को नारासहितको ब्यानर फहराएकी छन्।
आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको शिखरमा पुगेकी शेर्पाले नेपालको राष्ट्रिय झन्डा, नेपाल प्रहरी र उक्त नारासहितको ब्यानर फहराएको नेपाल प्रहरीले जनाएको छ। प्रसनि शेर्पा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत छिन्।
प्रहरी महानिरीक्षक दीपक थापाले गत चैत २५ गते शुभकामनासहित उक्त झन्डा र ब्यानर हस्तान्तरण गरेका थिए। प्रसनि शेर्पासहितको आरोहण दल गत चैत २८ गते काठमाडौँबाट सगरमाथातर्फ प्रस्थान गरेको थियो।
यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए। विसं २०३१ मा नेपाल प्रहरीको नौ सदस्यीय टोलीले छ हजार ९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले छ हजार ११९ मिटरको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए।