२२ बैशाख २०८२ , सोमबार

तनहुँमा कुमाल समुदायको संस्कृति संरक्षण, ८० जनालाई सिकाइयो पाउदुरे नाच

News
२२ बैशाख, काठमाण्डौँ ।

तनहुँमा कुमाल समुदायको संस्कृति लोप हुन थालेपछि नयाँ पुस्तालाई नाच सिकाउन पाउदुरे नाच प्रशिक्षण सञ्चालन गरिएको छ।

नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका–९ कुमालगाउँमा सञ्चालन गरेको एक साता लामो प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन्। गत वैशाख १५ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। प्रशिक्षणमा चार टोलीबाट ८० प्रशिक्षार्थी सहभागी भएको समाजका अध्यक्ष आलोक कुमालले जानकारी दिए।

जिल्लाभर विभिन्न ठाउँमा बसोबास गर्ने कुमाल समुदायलाई एकैठाउँमा भेला गरी पाउदुरे नाचबारे प्रशिक्षण दिइएको उनको भनाइ छ। कुमाल समुदायको यो संस्कृति लोप हुन नदिने मुख्य उद्देश्य रहेकोले नयाँ पुस्तालाई पाउदुरेमा आकर्षित गर्न प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष कुमालले बताए।

पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृति भए भए पनि पछिल्लो समय अधिकांश लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको अध्यक्ष कुमालले बताए।

पाउदुरे नाच यहाँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नाच्ने गरिन्छ। यस नाचको छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव नहुने जानकारहरू बताउँछन्।

प्रशिक्षण समापन कार्यक्रममा व्यास नगर उपप्रमुख इन्दिरा दरैले संस्कार र संस्कृति बिर्सन नहुने बताइन्। व्यास नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको कला, संस्कृति, रितीरिवाज संरक्षणमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका तथा म्याग्दे र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास रहेको छ। जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार सात सय २७ रहेको कुमाल समाज तनहुँले जनाएको छ।