३ कार्तिक २०८२ , सोमबार

काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ

News
२७ असार, काठमाण्डौँ ।

काठमाडौं प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजा (पोलेन) सहित पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका ३२ पाल्पाकोट चोक कोटेश्वरमा लागु औषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले कोटेश्वरस्थित एक घरको भुइँ तल्लामा डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका ४ घर भएका वर्ष ३८ को सुमन चेपाङको कोठाबाट उक्त गाँजा बरामद गरेको हो। प्रहरीले सुमन चेपाङसहित धादिङ गजुरी गाउँपालिका ४ का १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ र काठमाडौं महानगरपालिका ३ महाराजगञ्ज बस्ने ३६ वर्षीय जिवन प्रजालाई पनि पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट नगद रु १ लाख २५ हजार, बा ५५ प ४२६५ र बा ८५ प ५२३४ नम्बरको मोटरसाइकल तथा ३ थान मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।