२२ बैशाख २०८२ , सोमबार

कोशी प्रदेशका एमाले नेताद्वारा प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर विकास निर्माणमा ध्यानाकर्षण

News
१७ बैशाख, काठमाण्डौँ ।

कोशी प्रदेशका नेकपा एमालेका नेताहरूले प्रदेशमा तत्काल गर्नुपर्ने विकास निर्माणका कामबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ध्यानाकर्षण गराएका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने प्रदेशका विभिन्न योजना, सुझाव र मागसहितको सूची प्रधानमन्त्री र अर्थमन्त्रीलाई बुझाइएको प्रदेश इन्चार्ज शेरधन राईले जानकारी दिएका छन्।

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, प्रदेश इन्चार्ज शेरधन राई, विभिन्न जिल्लाका इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, सांसदहरू र जिल्ला अध्यक्षहरूसहितको टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेको थियो।

भेटमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले कोशी प्रदेशको विकासका लागि प्राप्त सुझाव र योजनालाई प्राथमिकतामा राख्ने आश्वासन दिएको सांसद सुहाङ नेम्वाङले जानकारी गराएका छन्। प्रदेशको विकासका लागि एमाले नेताहरूको यो पहललाई सकारात्मक रूपमा लिइएको छ।