कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश लगानी प्राधिकरणले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
विराटनगरको वीरेन्द्र सभागृहमा सम्मेलनको उद्घाटन बिहीबार हुनेछ भने वैशाख १९ गते सम्पन्न हुनेछ। लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ।
प्राधिकारका कार्यकारी निर्देशक डा सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र ७१ परियोजना सोकेसिङ गरिएको र यसको कूल अनुमानित लागत रु एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको जानकारी दिए।
उनका अनुसार लगानीका लागि आठ क्षेत्रका परियोजनामा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आइटी सेवालगायतका क्षेत्रका परियोजना तयार गरिएको छ। यसमा नेपाल, भारत, चीन, रुस, अमेरिका, दक्षिण कोरियालगायत पश्चिमी मुलुकका लगानीकर्ताहरूले सहभागी हुने जनाइएको छ ।
लगानी सम्मेलनमा विभिन्न छ वटा विषय कृषि, पर्यटन, औद्योगिक उत्पादन, बजारीकरण, पूर्वाधार विकास, ऊर्जा र स्वास्थ्य सेवा एवं मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयमा छलफल हुने र यसलाई सार्थक एवं नतिजामुखी बनाउन सबैको साथ सहायोगको अपेक्षा रहेको कार्यकारी निर्देशक डा कोइरालाले बताए।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनको सफलतापछि प्रदेशमा रोजगारी अभिवृद्धि हुने र राष्ट्रिय पुँजीको विकास हुने धारणा राखेका छन्। उनले लगानी सम्मेलनमा बाधक बन्ने कानुनहरुलाई संशोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आर्थिकरुपमा बलियो बनाउन, रोजगारी सिर्जना गर्न र सम्भावित क्षेत्रहरुको विकास गरी पर्यटक भित्र्याउन एवं उत्पादन बढाउन लगानी सम्मेलनले मद्दत गर्ने धारणा राखेका छन्।