पूर्वी चितवनको खैरहनीमा दुई समूहबीच भएको खुडा हानाहानमा तीन जना घाइते भएका छन्। खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित आहार क्याफेमा मंगलबार दिउँसो भएको झडपमा उनीहरु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक प्रदीप महतका अनुसार घाइते हुनेहरुमा राप्ती नगरपालिका–४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोले, राप्ती नगरपालिका–२ बस्ने २८ वर्षीय गणेश लामा र खैरेनी नगरपालिका–९ सिमलटाँडी बस्ने २७ वर्षीय अमृत आचार्य रहेका छन्।
घाइते तीनै जनाको हातमा चोट लागेको छ र उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीन–चार जनाको समूहले उनीहरुमाथि खुडा प्रहार गरेको बताइएको छ।
यसैबीच, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुर बस्ने २९ वर्षीय मिलन रुम्बा र २९ वर्षीय विशाल लामालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।