काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ।
टुँडिखेलमा सञ्चालन हुने उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए।
मेलाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गरी सुरक्षित रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धिमा योगदान पुर्याउने र देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने रहेको प्रमुख शाहले बताए।
महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। यस कार्यक्रमअन्तर्गत १५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्य राखिएको छ।
मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिन टुँडिखेलमा सुरु भएको थियो। उक्त संस्करणमा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। त्यसबाट दुई हजार ८१ जना युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो।
महानगरपालिकाले रोजगार र स्वरोजगारमा आबद्ध नभएका जनशक्तिलाई उद्योग तथा कम्पनीसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ गराइरहेको छ।
मेलाले आन्तरिक रोजगारीका सम्भावना देखाउने, सीप नभएर अनौपचारिक क्षेत्रमा रहेका जनशक्तिलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउने लक्ष्य राखेको छ।
‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउने, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने तालिमको मुख्य लक्ष्य रहेको छ।
यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने बताइएको छ। तालिममा गएको वर्ष तालिम लिन नपाएका, महानगरपालिकामा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र विगतमा सडक व्यापार/ठेलामा व्यापार गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।