काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुर र बिरालोको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य गर्ने भएको छ। महानगरपालिकाले घरपालुवा जनावर हराउने वा चोरी हुने समस्यालाई मध्यनजर गर्दै यो अभियान सुरु गरेको हो।
महानगरपालिकाले कुकुर/बिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ जारी गर्दै महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरेको छ।
आर्थिक ऐन २०८१ अनुसार नेपाली जातका सामुदायिक कुकुर वा बिरालोलाई निःशुल्क दर्ता गरिनेछ भने विदेशी जातका कुकुर वा बिरालोको हकमा प्रति जनावर रु. २,००० सेवा शुल्क लाग्नेछ।
महानगरपालिकाले जारी गरेको कार्यविधि अनुसार कुकुर/बिरालोमा माइक्रोचिप लगाएर सम्बन्धित वडा कार्यालयमा दर्ता गराउने दायित्व सम्बन्धित पाल्ने व्यक्तिको हुनेछ। माइक्रोचिप लगाएका कुकुर/बिरालोको मृत्यु भएमा, स्थानान्तरण गरेमा वा हराएमा मालिकले ७ दिनभित्र वडा कार्यालयमा जानकारी गराउनुपर्नेछ।
महानगरपालिकाका अनुसार माइक्रोचिपले हराएका कुकुर वा बिरालोलाई मालिकसँग पुनर्मिलन गराउन महत्त्वपूर्ण भूमिका खेल्छ। यो चिपले स्थायी पहिचान प्रदान गर्छ र हराएको पाल्तु जनावरलाई सहजै भेट्टाउन मद्दत गर्छ। माइक्रोचिप लगाउने प्रक्रिया छिटो, सुरक्षित र किफायती भएकोले ८ हप्ताभन्दा माथिका कुकुरमा माइक्रोचिप अनिवार्य रुपमा लगाउन र बेच्नु वा अरूलाई दिनुअघि माइक्रोचिप अनिवार्य लगाउन महानगरपालिकाले अनुरोध गरेको छ।