काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ।
केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको महानगरले जनाएको छ।
बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ। यसको लागत करिब रू २० लाख रहेको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। यो नमूना योजना हो। यसको नतिजा हेरेर आवश्यकताको आधारमा अन्य स्थानमा पनि प्लान्ट जडान गर्ने तयारी रहेको उनले बताइन्।
काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको बताउँदै विभाग प्रमुख राईले सानातिना एकाइमा यसको प्रयोगलाई परीक्षण गर्ने योजना रहेको बताइन्। हाल कार्यालयबाटै परीक्षण सुरु गरिएको छ। यहाँ तीन दशमलव ६० मिटर लम्बाइ, एक दशमलव २० मिटर चौडाइ र एक दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र चार वटा च्याम्बर रहेका छन्।
वरिष्ठ इञ्जिनियर निशा कोइराला पनि प्रणालीको प्राविधिक पक्ष र यसको प्रयोगबारे परीक्षणका लागि सुरुआत गरिएको बताउँछिन्। शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले तरल र ठोस छुट्टाइने काम गरिन्छ। त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधनको कार्य सुरू हुन्छ। तेस्रो चरणमा भने एरोविक (अक्सिजन दिनुपर्ने विधि) बाट, चौथो चरणमा फिल्टर र कीटाणु नष्ट गर्ने कार्य गरिन्छ। यस विधिबाट तयार भएको पानी दुर्गन्धरहित हुन्छ। बोटबिरूवामा सहजै प्रयोग गर्न सकिन्छ।
विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार महानगरको केन्द्रीय कार्यलय प्लाजा परिसरमा ७२ वटा शौचालय छन्। हाल ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रूपमा प्रशोधन गरिएको छ। यसबाट प्राप्त हुने नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने उनले जानकारी दिए। प्लाजामा दैनिक करिब नौ हजार लिटर पानीको प्रयोग हुने गरेको उनले बताए।