काठमाडौं महानगरपालिका-३२ कोटेश्वर स्थित पाहुना गेष्ट हाउसबाट ४ किलो १०० ग्राम लागू औषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
लागू औषधको बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले गेष्ट हाउसमा छापा मारेको थियो। छापा मार्ने क्रममा गेष्ट हाउसको दोस्रो तलामा रहेको कोठा नम्बर २०६ मा बस्दै आएका रामेछाप मन्थली नगरपालिका-१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई गाँजासहित पक्राउ गरिएको हो।
प्रहरीले कोठाभित्र लुकाएर राखेको ४ किलो १०० ग्राम गाँजा बरामद गरेको छ। पक्राउ परेका मगरलाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।