२२ बैशाख २०८२ , सोमबार

काठमाडौं महानगरको निर्देशन: निजी विद्यालयले जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरण गरिसक्नुपर्ने

News
१७ बैशाख, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत (निजी) विद्यालयहरूलाई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको छ। महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार, विद्यालयहरूले कक्षा १ देखि १० सम्म भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ।

महानगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय, गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्नुपर्ने जनाएको छ।

विद्यालयहरूले सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरण गरिसक्नुपर्नेछ। छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा उल्लेखित छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र वितरण गर्नुपर्नेछ।

छात्रवृत्ति छनौट समितिमा सम्बन्धित वडाको वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य संयोजक रहनेछन्। त्यस्तै, विद्यालयको प्रधानाध्यापक, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक/शिक्षा अधिकृत र विद्यालय व्यवस्थापन समितिमा रहेको अभिभावक प्रतिनिधि सदस्य रहनेछन्।

महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्दा http://datacollection.kathmandu.gov.np मा विद्यालयले प्राप्त गरेको User ID र Password प्रयोग गर्न अनुरोध गरेको छ। साथै, ३२ वटै वडा कार्यालयलाई आ-आफ्ना वडा अन्तर्गतका संस्थागत विद्यालयहरूमा यसै अनुसार सहजीकरणका लागि अनुरोध गरिएको छ।