११ जेष्ठ २०८२ , आईतवार

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज, सञ्चालनमा आउन सकेनन्

News
५ बैशाख, काठमाण्डौँ ।

कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन्। उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ।

निर्देशनालयका प्रमुख देवीलाल सापकोटाका अनुसार सबैभन्दा बढी दैलेखमा एक हजार ६७५ उद्योग खारेज भएका छन्। त्यसपछि सुर्खेतमा एक हजार ४५५, कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७, डोल्पामा ५१, हुम्लामा नौ र रुकुमपश्चिममा एक सय ५८ उद्योग खारेजीमा परेका छन्।

कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा १४ हजार २६५ दर्ता भएका थिए। तर, हाल यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन्। दैलेखमा चार हजार ७४८ उद्योग दर्ता गरिएकामा हालसम्म तीन हजार ५९१ उद्योगको नवीकरण गरिएको छ। कालिकोटमा दुई हजार ८३७ उद्योग दर्ता भएकामा हाल एक हजार ९३६ वटामात्र नवीकरण गरिएको छ।

जुम्लामा चार हजार ३८६ वटा उद्योग दर्ता भएकामा दुई हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए। मुगुमा दुई हजार २३ वटा उद्योग रहेकामा हाल ४५० वटा मात्र नवीकरण भएका छन्। सल्यानमा तीन हजार ६६३ वटा उद्योग रहेकामा तीन हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ। जाजरकोटमा तीन हजार ६८ दर्ता भएकामा एक हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ।

डोल्पामा दुई हजार २३६ उद्योग दर्ता भएकामा हाल नौ सय २२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ। हुम्लामा तीन हजार ७१९ वटा उद्योग दर्ता भएकामा हाल आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ। रुकुमपश्चिममा दुई हजार ७३३ उद्योगमा दुई हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ।

निर्देशनालयका अनुसार यी दर्ता भएका उद्योगबाट एक लाख २१ हजार ५५५ जनाले रोजगारी पाएका छन्।