१५ असार २०८२ , आईतवार

तनहुँको कन्यादेवी माविको एसइई नतिजामा सुधार

News
१४ असार, काठमाण्डौँ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए ।

तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ । यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए।

पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए। पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो। होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो।

यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे। बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो। उनले भने, “सुरूदेखि एसइई नतिजा सुधारका लागि पालिकाले लगानी गरेको थियो। त्यसकै परिणाम अहिले देखिएको छ।”

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यालयको नतिजा सुधारका लागि आफूहरू सुरूदेखि नै लागेको बताए। उनले भने, “गत वर्षको नतिजाले हामीलाई निराश बनाएको थियो। अहिले नतिजा सुधारका लागि विद्यालयमै आवाससहितको कक्षा सञ्चालन गरेका थियौँ।” सम्पूर्ण वडाभित्रका विद्यालयको नतिजाको विवरण सङ्कलनको क्रममै रहेको बताउँदै चुमानले सबै विद्यालयको नतिजा सुधार आएको उल्लेख गरे।