एक अमेरिकी न्यायाधीशले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई करिब १२ हजार शरणार्थीलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गराउन आदेश दिएका छन्। यो आदेशलाई ट्रम्प प्रशासनको आप्रवासन नीतिलाई पुनः आकार दिने प्रयासमा एक महत्वपूर्ण धक्काका रूपमा हेरिएको छ।
यो आदेशले पुनरावेदन अदालतको फैसलाले लगाएको सीमाहरूलाई स्पष्ट पारेको छ। उक्त फैसलाले ट्रम्प प्रशासनलाई शरणार्थी प्रवेश प्रणाली निलम्बन गर्न अनुमति दिए पनि संयुक्त राज्य अमेरिकाको यात्रा योजनाका साथ पहिले नै शरणार्थीको दर्जा प्राप्त गरेका व्यक्तिहरूलाई स्वीकार गर्नुपर्ने बताएको थियो।
ट्रम्प प्रशासनले गत हप्ताको सुनुवाइमा जनवरीमा प्रणाली रोक्ने कार्यकारी आदेशको दुई हप्ताभित्र यात्रा गर्न तालिका बनाइएका १६० जना शरणार्थीलाई मात्र प्रवेश गराउनुपर्ने तर्क गरेको थियो।
तर, अमेरिकी जिल्ला न्यायाधीश जमाल ह्वाइटहेडले सोमबार उक्त दाबीलाई खारेज गर्दै सरकारको व्याख्यालाई "उच्च स्तरको 'व्याख्यात्मक जिगरपोकरी (बेइमान व्यवहार)'" को संज्ञा दिए। उनले भने, “सरकारको व्याख्या, यसलाई नम्रतापूर्वक भन्नुपर्दा, उच्च स्तरको ‘व्याख्यात्मक जिगरपोकरी (बेइमान व्यवहार)’ हो ।”
ह्वाइटहेडले आफ्नो आदेशमा लेखेका छन्, “यसले केवल पुनरावेदन अदालतको निर्णयको आशय मात्र होइन, तर साँच्चै त्यहाँ नभएको नयाँ पाठ देख्नुपर्ने आवश्यकता छ।”
ह्वाइटहेडले सुरुमा शरणार्थी प्रवेश रोक्ने ट्रम्पको कार्यकारी आदेशलाई अवरुद्ध गरेका थिए। फेब्रुअरीमा उनले उक्त आदेशले सम्भवतः १९८० को शरणार्थी ऐन उल्लङ्घन गरेको फैसला गरेका थिए।
तर उनको निर्णय एक महिनापछि नवौँ सर्किट कोर्ट अफ अपील्सद्वारा खारेज गरिएको थियो।
“यदि नवौँ सर्किटले दुई हप्ताको सीमा लगाउने उद्देश्य राखेको भए–जसले संरक्षित जनसङ्ख्यालाई लगभग १२ हजारबाट एक सय ६० व्यक्तिमा घटाउने थियो–यसले स्पष्ट रूपमा त्यसो गर्ने थियो,” ह्वाइटहेडले लेखे, “यो अदालतले न्यायिक आदेशको सरकारको परिणाम उन्मुख पुनर्लेखनलाई स्वीकार गर्दैन।”
यो मुद्दा यहुदी शरणार्थी गैर-नाफामूलक संस्था एचआईएएस्, क्रिश्चियन समूह चर्च वर्ल्ड सर्भिस, लुथरन कम्युनिटी सर्भिसेस नर्थवेस्ट र अन्य केही व्यक्तिद्वारा दायर गरिएको थियो।
ती गैरनाफामूलक संस्थाहरूले फेब्रुअरीमा दायर गरेको मुद्दामा आफ्नै देशमा आफ्ना सबै सामानहरू बेचेर यात्रा गर्न लागेका धेरै व्यक्तिहरू ट्रम्पको आदेशद्वारा अचानक अलपत्र परेको बताएका थिए।
शरणार्थी पुनःस्थापना अमेरिकी नागरिकताका लागि केही कानूनी मार्गहरूमध्ये एक हो, जसलाई पूर्व राष्ट्रपति जो बाइडेनले अङ्गीकार गरेका थिए। बाइडेनले जलवायु परिवर्तनबाट प्रभावित व्यक्तिहरूलाई समेत समावेश गर्न कार्यक्रमको योग्यता विस्तार गरेका थिए।
ट्रम्पको ह्वाइट हाउस अभियानमा आप्रवासीहरूका बारेमा कडा नीति देखिएको थियो, र उनले निर्वासनको कडा कार्यक्रमलाई पनि अगाडि बढाएका छन्, जसमा अत्यधिक प्रचारित सैन्य उडानहरूले मानिसहरूलाई ल्याटिन अमेरिकाका देशहरूमा हातकडी लगाएर लगेका छन्।