प्राइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्की आज काठमाडौंको नयाँबानेश्वरमा समाचार संकलनका क्रममा घाइते भएकी छन्। आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, घाइते पत्रकार कार्कीको सिभिल अस्पताल र ट्रमा सेन्टर हुँदै हाल तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
नागरिकलाई सुसूचित गराउने आफ्नो पेशागत जिम्मेवारी पूरा गरिरहेकी पत्रकारमाथि प्रहरीले गरेको यस प्रकारको प्रहार अत्यन्त निन्दनीय र खेदजनक भएको महासंघले ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, "यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकारमाथि आघात पुगेको महासंघको ठहर छ।"
महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घाइते पत्रकारको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
