३१ बैशाख २०८२ , बुधबार

विश्वकै गरिब राष्ट्रपति भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको निधन

News
३१ बैशाख, काठमाण्डौँ ।

उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ।

देशका वर्तमान राष्ट्रपति यामान्दु ओर्सीले एक्समा गहिरो दुःखका साथ पेपे मुजिकाको निधनको घोषणा गरेका छन्। उनले मुजिकालाई राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेताका रूपमा स्मरण गर्दै उनलाई धेरै याद गर्ने बताएका छन्।

मुजिकाले आफ्नो सन् २०१०–२०१५ को राष्ट्रपति कार्यकालमा आफ्नो धेरैजसो तलब परोपकारका लागि दान गरेका थिए र साधारण जीवनशैली अपनाएर ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ का रूपमा प्रसिद्धि कमाएका थिए। उनले फुटबल र गाईको मासुका लागि परिचित ३४ लाख जनसङ्ख्या भएको उरुग्वेलाई भ्रष्टाचार र शक्तिशाली शासनले पीडित महादेशमा प्रगतिशील राजनीतिको गढमा रूपान्तरण गरेका थिए।

सन् २०२४ मे महिनामा उनलाई अन्नप्रणालीको क्यान्सर भएको पत्ता लागेको थियो, जुन पछि उनको कलेजोमा फैलियो। उनको निधनमा ल्याटिन अमेरिका र बाहिरका वामपन्थी नेताहरूबाट श्रद्धाञ्जलि व्यक्त भएका छन्।

आफ्नो छोटो शासनकालमा मुजिकाले गर्भपतन र समलिङ्गी विवाहलाई वैधानिक बनाएका थिए र उरुग्वेलाई मनोरञ्जनात्मक गाँजाको प्रयोगलाई वैधानिक बनाउने विश्वको पहिलो देश बनाएका थिए। उनले क्यान्सरको निदान पाएपछि पनि वामपन्थका लागि अभियान जारी राखेका थिए।

सन् १९६० को दशकमा उहाँले माक्र्सवादी–लेनिनवादी सहरी छापामार आन्दोलन टुपामारोसको सह–स्थापना गरेका थिए। उक्त आन्दोलनले गरिबहरूलाई दिन धनीहरूबाट लुटपाट गर्न थाल्यो तर पछि यसको अभियानलाई अपहरण, बम विस्फोट र हत्याहरूमा विस्तार गर्यो। सन् १९७२ मा टुपामारोसको पतन भएपछि उनलाई फेरि पक्राउ गरियो र उरुग्वेको सन् १९७३–१९८५ को तानाशाही शासनकालमा पूरै जेलमा बिताउनुपर्यो।

रिहा भएपछि उनी राजनीतिमा प्रवेश गरे र सन् १९८९ मा वामपन्थी ब्रोड फ्रन्ट गठबन्धनको सबैभन्दा ठूलो सदस्य मुभमेन्ट अफ पपुलार पार्टिसिपेसन (एमपिपि) को स्थापना गरे। सन् १९९५ मा संसद्मा निर्वाचित भए र सन् २००० मा सिनेटर र त्यसपछि उरुग्वेको पहिलो वामपन्थी सरकारमा कृषिमन्त्री बने।