दिगो वन संरक्षण र सम्वर्द्धनका लागि सबै निकायहरू हातेमालो गरेर अघि बढ्न जरूरी रहेको सरोकारवालाहरूले बताएका छन्।
डिभिजन वन कार्यालय पर्साले आज आयोजना गरेको वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन विषयक छलफलमा वक्ताहरूले वनलाई जोगाउन सबैले समन्वय गरेर अघि बढ्नुपर्ने बताएका हुन्।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसन्धान अधिकृत विष्णुप्रसाद ढकालले दिगो वन संरक्षण र सम्वर्द्धनका लागि सरोकारवाला निकायहरू हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको बताए। "एउटा निकायले चाहेर मात्र दिगो वन संरक्षण हुन सक्दैन। त्यसका लागि सबै निकायले एकअर्कासँग सहकार्य गरेको खण्डमा मात्रै प्रभावकारी ढङ्गले संरक्षणको काम अघि बढाउन सकिन्छ," उनले भने, "राज्यका निकायले सरोकारवाला निकायसँग मिलेर नै दिगो वनका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन जरूरी भइसकेको छ।"
अधिकृत ढकालले विभिन्न खालका लहराले समस्या निम्त्याउन थालेको बताए। "विभिन्न प्रजातिका लहरा तथा झारले साल प्रजातिका रूखहरूको अपेक्षाकृत वृद्धि विकास हुन सकिरहेको छैन," उनले भने, "त्यसतर्फ पनि गम्भीर भएर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ।"
डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले पर्सामा साझेदारी र सामुदायिक वनमार्फत वनजङ्गलको संरक्षणमा दिगोपना खोज्दै आइरहेको बताए। "सीमित स्रोतसाधन र जनशक्तिको बाबजुत पनि वनजङ्गल संरक्षण गर्नेतर्फ अग्रसर हुँदै आइरहेका छौँ," उनले भने, "भावी पुस्ताका लागि पनि वनजङ्गल जोगाउन अनिवार्य छ।"
डिभिजनल प्रमुख अहमदले वनजङ्गलको प्राकृतिक स्रोतको दिगोपनमा ध्यान दिन जरूरी रहेको बताए। "वनपैदावर प्राकृतिक स्रोत भएकाले पनि सबैले हातेमालो गरेर जोगाउन जरूरी भइसकेको छ," उनले भने।