६ जेष्ठ २०८२ , मंगलवार

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर, हाडमा समेत फैलियो

News
५ जेष्ठ, काठमाण्डौँ ।

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको 'आक्रामक' रुप देखिएको छ। पारिवारिक स्रोतका अनुसार क्यान्सर हाडमा समेत फैलिएको छ र यसको उपचारको विकल्पबारे समीक्षा भइरहेको छ।

शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो। विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो। पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो।”

विज्ञप्तिमा थप भनिएको छ, “पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो। यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ। राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन्।"

लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई 'दुःखी' बनाएको बताएका छन्। "हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उहाँकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ," ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भनेका छन्।

बाइडनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्ने शुभेच्छा प्रकट गर्दै भनिन्, "जो एक लडाकु हुन्।" उनले बाइडेनले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्ने विश्वास व्यक्त गरिन्।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठमध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन्। यो रोग प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ।

विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ। बाइडनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ।

बाइडनले यसै वर्षको जनवरीमा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपतिका रूपमा पद छोडेका थिए। उहाँको कार्यकालको अधिकांश समय उहाँको स्वास्थ्य र उमेरलाई लिएर विभिन्न टिकाटिप्पणी भएका थिए। कार्यकाल पूरा गरेपछि उनले पूर्व उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिका रूपमा अघि सारेका थिए।