जापानको जनसंख्यामा इतिहासकै सबैभन्दा ठूलो वार्षिक गिरावट आएको छ।
टोकियोस्थित क्योदो न्युजका अनुसार गत अक्टोबरसम्मको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ९८ हजार जनसंख्या घटेको छ। सरकारी अनुमान अनुसार यो लगातार १४ औं वर्ष हो, जहाँ जापानको जनसंख्या घटेको छ। यसअघि सन् २०२३ को जुलाईमा ८ लाख ६१ हजार जनसंख्या घटेको थियो, जुन अहिलेसम्मकै उच्च थियो।
विदेशी नागरिकहरू सहित जापानको कुल जनसंख्या १२०.३ मिलियन छ। जापानमा जनसंख्या वृद्धिको दर घट्दै गएको र बुढ्यौली जनसंख्या बढ्दै गएका कारण जनसंख्यामा ठूलो गिरावट आएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार टोकियो र छिमेकी साइतामा प्रिफेक्चरमा मात्र जनसंख्या वृद्धि भएको छ। सन् १९६८ पछि यो सबैभन्दा ठूलो जनसंख्या गिरावट हो।
जनसंख्या घट्ने क्रमलाई रोक्नका लागि जापानी संसदले सन् २०२४ को जुनमा जन्मदर बढाउने उद्देश्यले एक कानुन पारित गरेको थियो। कानुन अन्तर्गत बाल भत्ता वृद्धि गर्ने र अभिभावकलाई छुट्टीको सुविधा दिने लगायतका योजनाहरू समावेश गरिएका छन्।
अधिकारीहरूले सन् २०३० सम्मको अवधि यो समस्या समाधान गर्न महत्वपूर्ण हुने चेतावनी दिएका छन्। ढिलो विवाह गर्ने, आर्थिक असुरक्षा र काम गर्ने अभिभावकहरूलाई कम सहयोग जस्ता कारणहरूले यो समस्या बढाएको बताइएको छ। जापानको कुल प्रजनन दर सन् २०२३ मा सन् १९४७ देखि यताकै सबैभन्दा कम रहेको छ।