३ जेष्ठ २०८२ , शनिबार

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामबाट १० महिनामा १,८७२ उद्योगी व्यवसायी कारबाहीमा

News
३ जेष्ठ, काठमाण्डौँ ।

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ । कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरूलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो । सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो । जसमा कार्यालयले विभिन्न शीर्षकमा रु ४१ लाख १२ हजार ८४० सङ्कलन गरेको छ ।

कार्यालयले गत आवको सोही अवधिमा विभिन्न शीर्षकबाट रु तीस लाख ६३ हजार २४४ राजस्व सङ्कलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो ।