गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन बालबालिकासहित १६ जनाको मृत्यु भएको जनाएको छ।
गाजा पट्टीको दक्षिणी क्षेत्र खान युनिस गभर्नरेटमा भएका आक्रमणहरूमा पाँच र दुई वर्षका दुई बालक मारिएका छन्। अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन्।
इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर सेनाले गत दुई दिनमा गाजा क्षेत्रमा १०० भन्दा बढी ‘आतङ्ककारी लक्ष्यहरू’ मा आक्रमण गरिएको र हतियार भण्डारहरू ध्वस्त पारिएको दाबी गरेको छ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण पुनः सुरु भएदेखि हालसम्म दुई हजार ४३६ जना नागरिकको मृत्यु भइसकेको छ। अक्टोबर ७ देखि हालसम्म मारिनेको कूल सङ्ख्या ५२ हजार ५३५ पुगेको छ। इजरायलले गाजामा मानवीय सहायता आपूर्ति रोकेको छ भने बन्धक मुक्तिको लागि दबाब बढाउन नाकाबन्दी जारी राखेको बताएको छ। संयुक्त राष्ट्रसङ्घले इजरायललाई नाकाबन्दी हटाउन आग्रह गरेको छ।