नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको वर्तमान सङ्घीय लोकतान्त्रिक व्यवस्थामा वंशवादको कुनै स्थान नरहेको बताएका छन्।
एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले राजालाई स्थान चाहिन्छ भने सर्वसाधारण नागरिक भएर जनतासमक्ष आउनुपर्ने र निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गरे।
राजावादीका नाममा देशमा अशान्ति फैलाउन नहुने भन्दै त्यस्ता गतिविधि गर्नेलाई लोकतान्त्रिक शक्तिले सफल हुन नदिने उनले दाबी गरे। “देशमा लोकतन्त्र आएपछि समृद्धि तथा विकासले गति लिएको छ”, उनले भने।
जनताको सङ्घर्ष, त्याग, तपस्या तथा आन्दोलनबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै पोखरेलले आमनागरिक राजतन्त्रको पक्षमा नरहने बताए। देशमा अर्थतन्त्र सङ्कटमा परेको अवस्थामा समस्या समाधान गर्दै अर्थतन्त्र सुधार गर्न, मुलुकको समग्र विकास गर्न दुई ठूला दल कांग्रेस र एमालेबीच समन्वय भई वर्तमान सरकार गठन भएको उनले जानकारी दिए।
विगतमा पनि राणाशासन, पञ्चायती शासनविरुद्ध तथा लोकतन्त्र स्थापनाका लागि नेपाली कांग्रेस र एमालेले संयुक्त रूपमा आन्दोलन गरेर सफल भएको स्मरण गर्दै उनले अहिले पनि नेपालमा आर्थिक समृद्धि र विकासका लागि दुवै पार्टी हातोमालो गरेर अगाडि बढिरहेका उल्लेख गरे।
एमालेको जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्दा क्षमतावान् र पार्टी तथा जनताका लागि काम गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्नेमा उनले जोड दिए।
एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी रहेको भन्दै राजतन्त्र, शोषक र जनताको हितविपरीत कार्य गर्ने विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए। एमालेका धनुषा इन्चार्ज एवं पोलिटब्यूरो सदस्य जुली महतोले वर्तमान सरकार मुलुकको विकासमा केन्द्रित रहेकाले सबैले सहयोग गर्नुपर्ने आग्रह गरिन्।