२५ जेष्ठ २०८२ , आईतवार

भोजपुरमा पक्की कुलो बनेपछि सिँचाइ गर्न सजिलो

News
१९ जेष्ठ, काठमाण्डौँ ।

पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीका बासिन्दालाई सहज भएको छ। वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौंदेखि पानीको समस्या झेल्दै आएका किसानलाई सजिलो भएको हो।

केन्द्र सरकार, प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए। साझेदारीमा प्राप्त बजेटबाट नौ सय २३ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको उनको भनाइ छ।

यो कुलोले हिउँदे र बर्खे गरी करिब ५० देखि ६० घरपरिवारको पाँच सय रोपनी जग्गामा सिँचाइ सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताए। यहाँ धेरै उर्बरभूमि रहेकोले सिँचाइ कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उनको भनाइ छ।

सिँचाइ कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयवासी रुद्रबहादुर कोइरालाले बताए। ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखिको सिँचाइको समस्या अन्त्य भएको उनको भनाइ छ। कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहजरुपमा समयमा खेती गर्ने अवस्था रहेको उनको भनाइ छ।

कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदेबाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताइन्। कुलो बनेपछि १० मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उनको भनाइ छ। वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएको उनले बताइन्।

निर्माणको काम सम्पन्न भएर पानी सञ्चालन गरिएको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङले बताए। आफ्नो गाउँघरमा सिँचाइको सुविधा विस्तारले उत्साह बढेको उनको भनाइ छ। कुलो निर्माणले किसानले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए।