२८ बैशाख २०८२ , आईतवार

इरान र अमेरिकाबीच ओमानमा अप्रत्यक्ष वार्ता हुने, आणविक कार्यक्रम र प्रतिबन्धबारे छलफल हुने

News
२७ बैशाख, काठमाण्डौँ ।

इरान र अमेरिकाबीच आगामी अप्रत्यक्ष वार्ता ओमानमा मे ११ तारिखमा हुने भएको छ। इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले आइतबार उक्त जानकारी दिएका हुन्। ओमानले वार्ताको समय चाँडै घोषणा गर्ने बताइएको छ।

ओमानको मध्यस्थतामा हुन लागेको यस वार्ताको मुख्य उद्देश्य तेहरानको आणविक कार्यक्रम र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरूको समीक्षा गर्नु हो। साथै, वार्तामा प्रतिबन्ध हटाउने उपायहरूसम्बन्धी छलफल हुनेछ। मन्त्री अराघचीले इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट अडानमा दृढ रहने बताएका छन्, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेको उनको भनाइ छ।

उनले वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए। रियादमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नुका साथै उनी दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा पनि सहभागी हुनेछन्।

हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले प्राविधिक कारण देखाउँदै स्थगित गरेको थियो।