आज विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यस वर्ष "दिगो विकासका लागि परिवारमुखी नीति" भन्ने नाराका साथ परिवारसँग सम्बन्धित विषयमा जनचेतना बढाउने र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा परिवार र परिवार लक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न, गरिबी, भेदभाव, दुव्र्यवहार रोकथाम, उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य र वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घले परिवारसँग सम्बन्धित विषयहरूमा ध्यान केन्द्रित गर्न थालेपछि यो दिवस मनाउने प्रचलन सुरु भएको हो। सन् १९९३ मा महासभाले प्रत्येक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने घोषणा गरेको थियो।
आगामी नोभेम्बर २०२५ मा कतारमा दिगो विकाससम्बन्धी परिवारमुखी नीतिहरूः सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन आयोजना हुँदैछ। यो सम्मेलनले दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा प्राप्त गर्न परिवारहरूको भूमिकालाई जोड दिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधानकार्यालयमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।