२४ जेष्ठ २०८२ , शनिबार

अमेरिकामा मधेस पार्क बनाउन पहल सुरु

News
२३ जेष्ठ, काठमाण्डौँ ।

अमेरिकामा रहेका मधेसी समुदायले मधेस पार्क बनाउन पहल सुरु गरेका छन्। मधेसी एशोसियन इन अमेरिकाको पहलमा मधेस पार्क निर्माण गर्न अभियान सुरु गरिएको हो।

मधेसी एशोसियन इन अमेरिकाको भर्जिनियामा सम्पन्न चौथो महाधिवेशनमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस पार्कको योजनाको उद्घाटन गरेका हुन्।

अमेरिकामा मधेसी समुदायको बसोबास बाक्लिँदै गएकाले मधेसी समुदायको पहिचान जोगाउन मधेस पार्क निर्माण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष डा सङ्गीत रौनियारले बताए।

मधेस पार्क मधेसी समुदायको बसोबास, स्थानको सम्भावना र उपलब्धता, आर्थिक स्रोतका आधारमा कुन राज्यमा निर्माण गर्ने भनेर निर्णय गरिनेछ। अध्यक्ष रौनियारमा अनुसार मधेस पार्क मधेसी समुदायको सहभागिता र सहयोगमा निर्माण गरिनेछ।

पार्कमा प्रवेश गर्ने जोकोहीले आफूलाई मधेस प्रदेशमा भएको अनुभूति गर्नेछन्। मधेस पार्क परिसरमा निर्माण गरिने भवनमा मधेसी कला संस्कृति, वेषभूषा, इतिहास झल्किने सामग्री तथा चित्र राखिने कार्य योजनामा उल्लेख गरिएको छ।