२९ बैशाख २०८२ , सोमबार

नवलपरासीमा मही र दहीको माग बढ्दो, कोल्डड्रिङ्क्सको प्रयोग घट्दो

News
२८ बैशाख, मध्यविन्दु (नवलपरासी)।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पछिल्लो समय मही र दहीको लोकप्रियता बढ्दै गएको छ। गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरमा अत्यधिक प्रयोग हुने कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थको प्रयोग भने घट्दै गएको छ।

कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको बताए। "पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो, अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ," उनले भने। उनले गाउँमा मात्र नभई सहरबजारका पार्टीप्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको बताए। उनका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो, तर अहिले ग्राहक आफैँले मही माग्छन्। "हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौँ," उनले भने।

देवचुली नगरपालिका–१० का राजु चापागाईँले जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको बताए। उनका अनुसार यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको छ। "स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ," उनले भने। विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो रहेको उनको भनाइ छ।

देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ। उनले भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने बताए।

गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेले माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेको बताए। "हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ, यसले किसानलाई फाइदा पुगेको छ," उनले भने। उनका अनुसार भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको छ।