व्यक्तिलाई सुख, शान्ति र आनन्दको अनुभव गर्नका लागि ध्यान-योग एकदमै जरुरी भएको कुरामा जोड दिइएको छ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान-योग कार्यक्रममा भारतस्थित माउन्टआबुमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका कला तथा संस्कृति विभाग प्रमुख चन्द्रिका दिदीले एकता र विश्वासका लागि आफूमाथि विश्वास गर्नुपर्ने बताइन्।
"हामीले अरूको पनि राम्रो गुण देख्नुपर्छ, यसले सम्मानभाव हुन्छ, यसले एकता बढ्छ, विश्वास र एकताले विश्व शान्तिका लागि सहयोग गर्छ," उनले भनिन्। ध्यान व्यक्तिको जीवनमा शक्तिशाली सूत्र भएको उल्लेख गर्दै उनले यसले मानिसलाई ऊर्जासँग जोड्ने बताइन्। ध्यान-योगकै माध्यमबाट एकता र विश्वास बढ्ने उनले बताइन्।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्मकुमारी राज दिदीले अहिले मानिसलाई सबभन्दा ठूलो आवश्यकता शान्ति भएको बताउँदै मनमा प्रेम र भ्रातृत्वको भावनाले परिवार र देशमा शान्ति कायम हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको दोस्रो चरणमा कला र संस्कृतिका विज्ञहरूले प्रस्तुति दिएका थिए। नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति हरिहर शर्माले कला र संस्कृतिले मानिसको जीवनमा सुख र शान्तिको अनुभूति गराउने बताए। यसका लागि नियमित अभ्यास आवश्यक रहेको उनको भनाइ थियो।
सङ्गीतकार डा टीका भण्डारीले मानिसमा सकारात्मक सोचका लागि ध्यान योगको आवश्यकता रहेको बताइन्। १५ वर्ष पहिलेदेखि आफूले राजयोगको अभ्यास गर्दै आएको उनले बताइन्।