४ जेष्ठ २०८२ , आईतवार

सगरमाथा संवादमा इलामे चियाको सुगन्ध

News
४ जेष्ठ, काठमाण्डौँ ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको सगरमाथा संवादमा इलामे चियाको स्वाद र सुगन्धले विशेष आकर्षण थपेको छ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा मन्त्रालयले नेपालस्थित विदेशी नियोगका प्रमुख, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि तथा राजदूतहरूका लागि इलामको श्रीअन्तुमा 'रिट्रिट' कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी कूटनीतिज्ञहरूले इलामका चिया बगानको भ्रमण गर्नुका साथै अन्तु डाँडाबाट सूर्योदयको अवलोकन गरेका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा पुगेका राजदूतहरूले स्थानीय वेशभूषामा सजिएर चिया बगानमा तस्बिर खिचाएका थिए । कतिपयले कन्याममा घोडचडीको आनन्द लिएका थिए।

कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी थिए । नेपाल पर्यटन बोर्ड र सूर्योदय नगरपालिका इलामको सहकार्यमा आयोजित कार्यक्रमले नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।

यसपटक इलाममा चिया टिप्ने प्रतियोगिता र 'टि टेस्टिङ' कार्यक्रम आयोजना गरिएको थियो, जसमा कूटनीतिज्ञहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। चिया बगानको भ्रमणपछि आयोजित टि टेस्टिङ कार्यक्रममा सहभागीहरूले इलामे चियाको स्वाद र गुणस्तरको अनुभव आदानप्रदान गरेका थिए।

सूर्योदय नगरपालिकाको संयोजनमा स्थानीय चिया उद्यमीहरूले विभिन्न थरीका चिया प्रदर्शन तथा बिक्रीका लागि राखेका थिए। सोही क्रममा स्थानीय उद्यमीहरूले परराष्ट्रमन्त्रीसमक्ष नेपाली चियाको प्रवर्द्धन र बजार विस्तारका लागि सहयोगको आग्रह गरेका थिए।

सगरमाथा संवादमा इलामे चियाको प्रवर्द्धन गर्ने उद्देश्यले होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको थियो। इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले प्रदर्शनी कक्षमा स्वदेशी तथा विदेशी पाहुनाहरूको उत्साहजनक सहभागिता रहेको बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले सगरमाथा संवादमा सहभागी विदेशी पाहुनाहरूलाई इलामको अर्गानिक चिया उपहारस्वरूप प्रदान गरिएको जानकारी दिए। यस संवादले नेपाली चियालाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।