गर्मीयाम सुरु भएसँगै चितवनको इच्छाकामना गाउँपालिकाका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको आगमन बढेको छ। इच्छाकामनाका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा पर्यटकको चहलपहल बढेको हो।
होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष दासीराम ढकालका अनुसार इच्छाकामनाको रमणीय प्राकृतिक सौन्दर्यमा रमाउन र त्रिशूली नदीमा जलविहार गर्न आन्तरिक पर्यटकहरू आउने गरेका छन्। "चितवनका तराई क्षेत्रमा गर्मी बढेको छ, तर यहाँ गर्मीको महसुस नै हुँदैन, बरु जाडो छ," ढकालले भने।
गर्मी बढेसँगै मायाटार, उर्दाङगढी, घुर्केश, हात्तीवाङ लगायतका गाउँहरूका होमस्टे भरिभराउ छन्। इच्छाकामना– २ मायाटारमा होमस्टे सञ्चालन गर्दै आएकी टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताइन्। "यहाँ बाह्रै महिना पर्यटकहरू आउने गर्छन्, तर गर्मी मौसममा आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ," उनले भनिन्।
उनका अनुसार गत वर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जनाभन्दा बढी पर्यटक आउने गरेका छन्। शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा अझ बढी पर्यटक आउने गरेको गुरुङले बताइन्।
हाल घुर्केशमा १४ र मायाटारमा दुईवटा होमस्टे सञ्चालनमा रहेको जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा होमस्टे सञ्चालनमा सहयोग गर्दै आएको बताए। उनले पर्यटकलाई आकर्षित गर्न थप योजनाहरू ल्याउने तयारी भइरहेको जानकारी दिए।