४ जेष्ठ २०८२ , आईतवार

काठमाडौंमा २० लाख रुपैयाँभन्दा बढी हुण्डी रकम सहित एक जना पक्राउ

News
४ जेष्ठ, काठमाण्डौँ ।

काठमाडौं प्रहरीले २० लाख रुपैयाँभन्दा बढी हुण्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका-२४ जुद्दसालिकबाट सिन्धुपाल्चोक बाहबिसे नगरपालिका-४ पलाती घर भई हाल काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने २४ वर्षीय संजय बस्नेतलाई पक्राउ गरेको हो।

प्रहरीले बस्नेतको साथबाट नगद रु २० लाख २९ हजार ६२० रुपैयाँ, एक थान आईफोन १४ प्रो मोबाइल र हस्ताक्षर गरिएको तथा खाली विभिन्न बैंकको ३० थान चेक बरामद गरेको छ। बरामद गरिएको रकममा १७ लाख ७९ हजार रुपैयाँ एक हजार दरका नोट, दुई लाख ५० हजार ५ सय रुपैयाँ पाँच सय दरका नोट र एक सय २० रुपैयाँ खुद्रा रहेका छन्। प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।