२९ जेष्ठ २०८२ , बिहीबार

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने

News
२८ जेष्ठ, काठमाण्डौँ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद बैठक आज नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना रहेको छ।

विपक्षी दलहरूले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर लगातार संसद बैठक अवरुद्ध गर्दै आएका थिए। जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक-पटक सहमतिका लागि दलहरूबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची रहेको छ। प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन।