१० असार २०८२ , मंगलवार

प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि छलफल जारी

News
१० असार, काठमाण्डौँ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाए। त्यसलगत्तै सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिए। त्यसपछि दुवै पार्टीका सांसदहरु आ–आफ्नो स्थानमा आसनग्रहण गरी सभा सञ्चालनको वातावरण बनाए।

गृहमन्त्री लेखकले समय माग गर्दै संसद्मा सांसदहरुले उठाएको विभिन्न विषयबारे जवाफ दिएका छन्। आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको प्रश्नको प्रधानमन्त्रीलगायत विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची छ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीको जवाफपछि विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।