१८ जेष्ठ २०८२ , आईतवार

प्रेस काउन्सिलबाट प्रकाशित ‘नेपाली मिडियाको इतिहास’ लोकार्पण

News
१७ जेष्ठ, काठमाण्डौँ ।

प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ शुक्रबार एक समारोहका बीच लोकार्पण गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा शिक्षामन्त्री पन्तले पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्ने धारणा व्यक्त गरे। उनले पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए।

“तुलनात्मक रूपमा दक्षिण एसियामा हेर्दा नेपालमा प्रेस स्वतन्त्रता बढी रहेको छ”, मन्त्री पन्तले भने, “पत्रकार बेपत्ता हुनुपरेको छैन, जागिर गुमाउनुपरेको छैन। तुलनात्मक रूपमा यहाँको अवस्था सुधारोन्मुख छ। पत्रकारहरूले लडेर ल्याएको हो प्रेस स्वतन्त्रता। यसलाई सबैले जोगाउन सहयोग गर्नुपर्छ। सधैँ सरकारमा नभए पनि प्रेस स्वतन्त्रतालाई खुम्च्यान दिनुहुँदैन।” उनले प्रेस काउन्सिललाई शक्तिशाली र प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्ने बताए।

“प्रेस काउन्सिललाई शक्तिशाली बनाउनुपर्छ र न्याय प्रणालीसँग सम्बन्धित जनशक्ति यहाँ आवश्यक छ। आजको समयलाई निर्देश गर्नसक्ने काउन्सिल चाहिन्छ। काउन्सिलले प्रेस स्वतन्त्रताका बारेमा चिन्ता राख्दै सञ्चारमाध्यम निर्धारित मार्गदिशाभन्दा बाहिर नजाओस् भनेर प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्नुपर्छ”, उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय सञ्चारमाध्यममा भएका परिवर्तन कोशेढुङ्गाका रूपमा रहेका उल्लेख गर्दै समाचारका विषयवस्तुमा बृहत छलफल गर्नु आजको आवश्यकता देखिएको बताइन्।

उनले भनिन्, “प्रकाशन÷प्रसारण गर्ने सामग्रीका विषयमा छलफल गर्न आवश्यक देखिएको छ। सूचना सत्य हुनुपर्छ। सत्य सूचनाले नै ज्ञान र बौद्धिकता बढाउँछ। ज्ञान र बुद्धि बढाएर समाज रुपान्तरणमा पत्रकारिताले के गरेको छ भन्ने प्रश्नमा गम्भीर भएर लाग्न सबै सञ्चारजगतलाई अनुरोध छ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था, विभिन्न कालखण्डका सङ्घर्ष र यथार्थ बोकेको बताए। उनले भने, “पत्रकारितामा विश्वासको धागो मक्किँदै जान थालेको छ। अफवाह र आधारहीन सूचना तथा समाचार छरिएका छन्। पत्रकारिताको मूल मर्ममा हामी सबै गम्भीर हुन आवश्यक छ।” उनले यो पुस्तक अङ्ग्रेजी संस्करणमा पनि प्रकाहन गर्ने तयारी भइरहेको जानकारी गराए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नेपाली सञ्चारमाध्यमको इतिहास छापादेखि डिजिटल प्रविधिसम्म आउँदा विश्वसनीयता गुम्दै गएको हो कि भन्ने अवस्था देखिएको बताइन्। उनले भनिन्, “सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ।”

पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबीच सार्थक संवादको आवश्यकता देखिएको बताए। उनले यस्तो छलफल अघि बढाउन र सञ्चारमाध्यमसँग चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी हुने प्रतिक्रिया दिए।