चितवनस्थित नारायणी नदीमा प्लास्टिकजन्य फोहर अधिक मात्रामा भेटिएको छ। यहाँका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा ‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहर बढी भेटिएको हो।
परियोजनाकी संयोजक आकृति सुवेदीका अनुसार प्लास्टिकजन्य फोहोरको हिस्सा ४२ दशमलव ५५ प्रतिशत छ। जसमध्ये देवघाट क्षेत्र प्लास्टिकबाट थप प्रभावित बनेको छ। देवघाटमा ७२.२४ प्रतिशत प्लास्टिकका फोहर देखिएको छ। त्यसैगरी नदीमा दोस्रोे र तेस्रो प्रदूषणका रुपमा १७.१४ प्रतिशत कपडाजन्य फोहार र सिसा १२.६२ प्रतिशत रहेका छभने जैविक फोहोर ७.८९ प्रतिशत देखिएको छ। सो क्षेत्रअन्तर्गत नदीको सबैभन्दा बढी फोहर नारायणगढको नगरवन क्षेत्रमा २२.७ प्रतिशत र कम फोहोर नारायणगढकै जोरकुसुम पार्कमा ८.६ प्रतिशत देखिएको छ।
नदीको शिवघाट क्षेत्रमा १९.६ प्रतिशत नारायणगढको नदी किनार प्रदर्शनी क्षेत्रमा १७.२ प्रतिशत, गोलाघाटमा १६.५ प्रतिशत र देवघाट क्षेत्रमा १५.४ प्रतिशत फोहर फेला परेको अध्ययन टोलीको निष्कर्ष छ। अभियानका फोहोर लेखापरीक्षक इञ्जिनियर सागर कार्कीले डाइपर, औषधिजन्य फोहर र रासायनिक बस्तुहरुको व्यवस्थापनमा कमजोरी हुँदा नदीसम्म पुग्ने गरेको बताए। देवघाटबाट बगाएका अधिकांश फोहर गोलाघाट क्षेत्रसम्म पुगेको हुँदा सबै स्थानमा फोहरको सही व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ। बढ्दो शहरीकरण र अव्यवस्थित फोहरका कारण नदी सङ्कटमा परेकाले नदी किनाराका तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्रमा फोहर सङ्कलन गर्ने भाँडाहरु राख्नुपर्ने, ढल नदीमा मिसाउन नहुने, जैविक फोहर व्यवस्थापनमा जोड दिनुपर्ने र कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने उनले बताए।
अभियानमा आबद्ध संस्था सहमतिको परियोजना संयोजक खेमराज खनालले नारायणी नदी प्रदूषणमा प्लास्टिक प्रमुख समस्याको रुपमा पहिचान गरिएको बताए। नदीको भविष्यलाई बचाउन सरकारले नीति बनाएर नै लाग्नुपर्ने उनको भनाई छ। ‘नदीसँगै हामी’ अभियानमा चितवन र नवलपुरका १३ वटा संस्था आबद्ध छन्।