जिल्लाबाट उत्पादन भएर बिक्रीका लागि गएका तरकारीमा रासायनिक विषादीको प्रयोग बढी देखिएसँगै विज्ञहरूले यसको प्रयोग घटाउन किसानलाई आग्रह गरेका छन्। केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले आयोजना गरेको विषादी न्यूनीकरण जनचेतनामूलक प्रशिक्षण कार्यक्रममा कृषि विज्ञले रासायनिक विषादीको प्रयोग कम गरेर प्राङ्गारिकतर्फ केन्द्रित हुन किसानलाई सुझाव दिएका हुन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक घनश्याम भण्डारीले रासायनिक विषादीको प्रयोगले किसानका शत्रु तथा मित्रजीव दुवैलाई असर गर्ने र प्रयोग गर्दासमेत मानव स्वास्थ्यमा समस्या हुने भएकाले यसको प्रयोग घटाउन आग्रह गरे। उहाँले भने, “विज्ञसँगको समन्वयमा रासायनिक विषादीको समूचित प्रयोग गर्नुपर्छ।” अहिले जथाभावी प्रयोग गर्दा यहाँको उत्पादनमा विषादीको मात्रा बढी देखिएको उहाँले बताए।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कीट विज्ञान विषयका प्रध्यापक डा. सुन्दर तिवारी विषादीको प्रयोग गरिसकेपछि कति अवधि राख्नुपर्छ भन्ने कृषिमा ज्ञान नभएकाले तरकारीमा विषादीको मात्रा बढेको बताउँछन्। उहाँले भने, “सामान्यतया तरकारीमा विषादी प्रयोग गरेको एक सातासम्म टिप्न मिल्दैन। यहाँ भोलि बिक्री गर्ने तरकारीमा आज विषादीको प्रयोग गर्ने गर्दा समस्या देखिएको छ।” उहाँले किसानको शत्रुजीव र मित्रजीव दुवैलाई एवं उत्पादक तथा उपभोक्ता सबैको स्वास्थ्यमा असर गर्ने भएकाले विषादीको प्रयोग कम गर्न किसानलाई आग्रह गरे।
विषादीको प्रयोगले उत्पादन पनि घट्दै गएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीले तरकारीमा प्रयोग गरिने विषादी न्यूनीकरण गर्न सकेमा मात्र स्वस्थ जीवन बिताउन सकिने बताए। यहाँ उत्पादित तरकारी देशका विभिन्न स्थानमा पुग्ने गरेको बताउँदै उहाँले विज्ञसँगको परामर्शमा मात्र विषादीको प्रयोग गर्न आग्रह गरे। जथाभावी विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर पर्ने भन्दै उहाँले कृषि क्षेत्रलाई रासायनिक विषादीरहित बनाउन लाग्न जरूरी रहेको बताए।
जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत १९ गते पठाइएको बोडीमा ९२ दशमलव ४५३ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो। वैशाख १४ गते पठाइएको करेलामा ७५ दशमलव ००७ प्रतिशत भेटिएको थियो। यसले गर्दा चितवनको तरकारी उपभोग गर्न हुन्न भन्ने सन्देश गएकाले किसान सचेत हुन जरूरी रहेको उहाँले बताए।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले तरकारीमा देखिएको विषादीले मानव स्वास्थ्यमा समस्या पर्ने भएकाले उपभोक्ता अधिकार संरक्षणसम्बन्धी कानुन आकर्षित हुने भन्दै उहाँले विषादीको प्रयोग कम गर्न किसानलाई आग्रह गरे। उहाँले स्थानीय प्रशासन कानुनी प्रक्रियामा जानुभन्दा बेलैमा विषादीको प्रयोग घटाउन किसानलाई सुझाए।
यस सहकारीबाट दैनिक उत्पादन भएर १० टन तरकारी बाहिर जाने गरेको छ। ती तरकारीमा विषादी देखिएपछि आफूहरू चिन्तित भएर सुधारको पक्षमा लागेको संस्थाका पूर्व अध्यक्ष कान्छा मल्लले जानकारी दिए। उहाँले भने, “३५ वर्षदेखि गर्दै आएको व्यावसायिक खेतीमा सामान्य कुराले समेत ठूलो असर पार्दोरहेछ।”
संस्थाका अध्यक्ष एवं अगुवा किसान जनकराज पुरी तरकारीमा देखिएको विषादी व्यवसायमुखी किसानकोभन्दा पनि गुजारामुखी किसानको हुनसक्ने बताए। तरकारीमा विषादीको प्रयोग बढेको सूचना पाएसँगै किसानमा विषादीको प्रयोगका बारेमा सचेतना जगाउने काम गरिएको उहाँको भनाइ छ।
उत्पादित तरकारीमा कार्बामेट र आर्गानोफस्फेट ३५ प्रतिशतभन्दा कम भएमा उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी देखिएमा विसर्जन गर्नुपर्ने हुन्छ। पछिल्ला दिनमा उपभोग्य तरकारीमा विषादीको प्रयोग बढ्नु चिन्ताजनक रहेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख कँडेलले बताए।