१८ जेष्ठ २०८२ , आईतवार

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

News
१७ जेष्ठ, काठमाण्डौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायु सक्रिय रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ। उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

मौसम परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक तयारी गरी सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी कोशी र मधेश प्रदेशका नागरिकलाई थप सचेत रहन आग्रह गरिएको छ।