२८ बैशाख २०८२ , आईतवार

दुर्गम कान्दामा बोकेरै पुर्‍याइयो हाते ट्रयाक्टर, चेपाङ समुदाय हर्षित

News
२८ बैशाख, काठमाण्डौँ ।

चितवन जिल्लाको राप्ती नगरपालिका–१३ स्थित विकट कान्दा गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्‍याइएको छ। सडक सुविधा नपुगेको उक्त गाउँमा चेपाङ समुदायले दुई घण्टाभन्दा बढी पैदल हिँडेर बोकेरै ट्रयाक्टर पुर्‍याएका हुन्।

गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुगेपछि स्थानीयवासी दङ्ग छन्। मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङले गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीयवासी खुसी भएको बताए। उनले भने, “युवाहरू श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिका मात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो। अब हाते ट्रयाक्टरले जोत्न पाउँदा सहज हुने भयो।”

कान्दा चितवनको सबैभन्दा विकट ठाउँमध्ये एक हो। पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीमा र त्यसपछि दुई घण्टा हिँडेपछि कान्दा पुग्न सकिन्छ। स्थानीयवासीले शनिबार हाते ट्रयाक्टर बोकेर कान्दा पुर्‍याएका थिए।

यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो। त्यसपछि विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँ रूपान्तरणका कामहरू भइरहेका छन्। जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन्। कृषि पेसालाई व्यावसायिक बनाउन यस हाते ट्रयाक्टरले धेरै सहयोग पुग्ने विश्वास अध्यक्ष चेपाङको छ।

स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। उनले सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो गरे।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा विकट कान्दामा हाते ट्रयाक्टर पुगेको हो। पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन्। यस्तै, सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ। त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ।

हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए। उनले यहाँका किसानलाई हाते ट्रयाक्टर उपलब्ध भएपछि बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने बताए। “कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौँ”, उनले भने, “बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएको छ।”

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले राज्य र निजी क्षेत्रको सहकार्य र सहयोगबाट नै चेपाङ समुदायमा रूपान्तरण ल्याउन सकिने बताए।

कान्दामा लामो समयदेखि काम गरिरहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्‍याउनका लागि सहजीकरण गरेका थिए। उनले चेपाङ समुदायले लामो समयदेखि परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्धताका लागि पहल गरिएको बताए। “किसानले चाहना गरे पनि आर्थिक अवस्थाले भ्याउने थिएन, अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन नसकेपछि सहयोगी हात खोजेका हौँ”, उनले भने। यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ। यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन्। हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ।